Logo

३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारमाथि गम्भीर आरोप लगाएको छ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सरकारले भूमि विधेयकको दुरुपयोग गरी आफ्ना मान्छेलाई जग्गा बाँड्ने प्रपञ्च रचिरहेको बताए।

सरकारको चरित्रमाथि माओवादीको निष्कर्ष

सापकोटाले पार्टीले वर्तमान सरकार ‘अधिनायकवाद’ र ‘तानाशाहीकरण’ तर्फ गइरहेको निष्कर्ष निकालेको जानकारी दिए। उनका अनुसार, सरकारले राज्यका सबै संरचनामाथि हस्तक्षेप गरिरहेको छ र यसको ‘नालायकी’ तथा ‘कुशासन’ का कारण जनता आक्रोशित छन्।

माओवादी केन्द्रले सरकारको यो अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक व्यवस्थामाथि नै असर परिरहेको र व्यवस्थाविरोधीहरूलाई अवसर मिलिरहेको आरोप लगाएको छ।

भ्रष्टाचारमा दोहोरो मापदण्ड

सापकोटाले सरकारले भ्रष्टाचारका मुद्दामा दोहोरो मापदण्ड अपनाएको दाबी गरे। ‘अरू पार्टीलाई छानेर अख्तियार लगाउने, जेल हाल्ने, तर आफ्नालाई भने हरतरहले बचाउने काम भइरहेको छ,’ उनले भने। सरकारले जनतालाई भ्रममा पार्न खोजिरहेको पनि माओवादी केन्द्रको भनाइ छ।

पदाधिकारी बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।


सम्बन्धित समाचार
भर्खरै