३ भदौ,काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा आफ्नो पहिलो जित दर्ता गरेको छ। आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन, आसिफ शेखले २९, कुशल भुर्तेलले २७ र लोकेश बमले ११ बलमा अविजित २५ रनको योगदान दिए। होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २–२ विकेट लिए।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट हरिकेन्स एकेडेमी १६.१ ओभरमा ११४ रनमा अलआउट भयो। होबर्टका लागि ब्राडली होपले सबैभन्दा बढी ३१ रन बनाए। नेपालका बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए।
यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो जितको खाता खोलेको छ। यसअघिका तीन खेलमा नेपाल आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइक्स, बंगलादेश ’ए’ र मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
प्रतियोगितामा सहभागी ११ टोलीमध्ये प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आगामी शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्नेछ। यो शृङ्खला आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्त्वपूर्ण रहेको छ।

















