३ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक संघर्षको चेतावनी दिएको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरमाथि महाभियोग लगाउन सांसदहरूबाट हस्ताक्षर संकलन गरिरहेको चर्चा चलिरहँदा रास्वपाले कडा आपत्ति जनाएको हो।
रास्वपा प्रवक्ता मनीष झाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सुन्दैछौँ हस्ताक्षर संकलन हुँदैछ रे ! सामाजिक लडाइँ लड्दै आएकी एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे ! यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने आरोप समेत लगाए। “परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र देउवाका लागि यो समावेशिताको परिवर्तन सह्य भएन,” उनले लेखेका छन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख हटाउने प्रयासको विरोध गर्दै कांग्रेस–एमालेले गल्ती गर्न लागेको टिप्पणी गरेका थिए। उनले माओवादी केन्द्र यस्तो कार्यमा कुनै हालतमा सहमत नहुने बताएका थिए।
यता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख राना मगरलाई तत्काल महाभियोग लगाउने वा हटाउने कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले त्यस्तो प्रक्रिया अघि नबढेको बताए।
उपसभामुख हटाउने विषयले सत्ता गठबन्धनभित्रै पनि विवाद उत्पन्न गराएको देखिएको छ। प्रमुख दलहरूबीचको विश्वास संकट, जातीय–सामाजिक प्रतिनिधित्वप्रतिको दृष्टिकोण र पदको भागबन्डामा समेटिएको असहमति अहिले गहिरिँदो छ।















