Logo

३ भदौ, काठमाडौं । गृह मन्त्रालयले वित्तीय सुशासन कायम गर्ने दिशामा महत्वपूर्ण प्रगति गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले हालसम्मकै उच्च रु २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम फर्छ्यौट गर्न सफल भएको छ।

यससँगै मन्त्रालयमा अघिल्लो वर्षसम्म रहेको कुल रु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार बेरुजु रकम मध्ये अब केवल रु १ अर्ब ४७ करोड ४५ लाख मात्रै बाँकी रहेको छ।

गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीका अनुसार गृहमन्त्री लेखकको निर्देशन, गृह सचिवको समन्वय र मातहत निकायहरूको सहकार्यका कारण सम्परीक्षण र वित्तीय अनुशासनमा मन्त्रालय अग्रस्थानमा रहन सफल भएको हो।

“मन्त्रालयले कार्य योजना बनाएर बेरुजु फर्छ्यौटको काम तीव्र रुपमा अघि बढाएको छ,” उपसचिव अधिकारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा बेरुजु फर्छ्यौट तथा सम्परीक्षणको प्रगति ६३.१७ प्रतिशत पुगेको छ।

अधिकारीले तीन वर्ष यताको लेखापरीक्षणको तथ्यांक प्रस्तुत गर्दै भने, “आर्थिक वर्ष २०७८/०७९ मा बेरुजु १.४१ प्रतिशत थियो भने अहिले घटेर केवल ०.०९ प्रतिशतमा झरेको छ। शून्य प्रतिशतको लक्ष्यतर्फ मन्त्रालय अघि बढेको छ।”

बेरुजु फर्छ्यौट समन्वयलाई थप प्रभावकारी बनाउन मन्त्रालयले आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ। समितिले विगत वर्षको बेरुजु लागत अभिलेखीकरण, कार्य योजना अनुसार नियमित बैठक तथा प्रगति समीक्षा जस्ता गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ।

त्यस्तै, असुल उपर तथा पेस्की बेरुजु सम्बन्धी कार्यमा सम्बन्धित निकाय तथा व्यक्तिहरुलाई ताकेता गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको यो उपलब्धि राज्यको वित्तीय अनुशासन सुदृढ गर्ने दिशामा एक सकारात्मक संकेतका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै