३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६, नगवामा आजदेखि हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि विशेष अभियान सुरु गरिएको छ। अभियानको सुरुवात विभिन्न किसिमका फलफूल, छायाँ दिने तथा औषधीय बिरुवा वितरणबाट गरिएको हो।
वन डिभिजन कार्यालय, पर्साको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई निःशुल्क रूपमा बिरुवा प्रदान गरिएको छ। वडा कार्यालय परिसरमा आवश्यक सबैका लागि बिरुवा उपलब्ध गराइएको छ भने घरदैलोमै पुगेर पनि वितरण गर्ने योजना बनाइएको जनाइएको छ।
कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सरार्फले गरे। उनले रुख रोपेर मात्र नभई त्यसको संरक्षणमा समेत ध्यान दिन आवश्यक रहेको बताए। “हराभरा टोल र स्वस्थ वातावरण निर्माण हाम्रो लक्ष्य हो,” अध्यक्ष सरार्फले भने।
साथै, कार्यक्रममा सहभागी स्थानीयवासीहरूले घर आँगन, विद्यालय र सार्वजनिक स्थानहरूमा रोप्नका लागि बिरुवा लिएको र संरक्षण गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमत पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरू तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस अभियानबाट वीरगन्जका नागरिकहरूमा वातावरणीय चेतना अभिवृद्धि हुने र स्वच्छ, हरित नगर निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

















