३ भदौ,वीरगञ्ज । पर्साको जगरनाथपुर र जीराभवानी गाउँपालिकाले वीरगन्जस्थित नारायणी अस्पताललाई ६ थान वातानुकूलित एसी (AC) प्रदान गरेका छन्। गर्मीका कारण अस्पतालको मेडिकल वार्डमा उपचाररत बिरामीहरूलाई भइरहेको समस्या समाधान गर्न उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले मंगलबार अस्पतालमै पुगेर एलजी कम्पनीका ६ थान एसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासलाई हस्तान्तरण गरे।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताका अनुसार दुबै गाउँपालिकाले ३/३ थान एसी सहयोग स्वरूप उपलब्ध गराएका हुन्।
यसअघि सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको साथमा अस्पतालको निरीक्षणमा पुगेका जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले मेडिकल वार्डको अवस्थाबारे जानकारी लिएपछि एसी जडान गरिदिने प्रतिबद्धता जनाएका थिए। पंखामात्र रहेको वार्डमा बिरामीहरूलाई गर्मीले कठिनाइ भइरहेको देखिएपछि उनले तुरुन्तै पहल गरेका हुन्।
अध्यक्ष यादवकै पहलमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ थान एसी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। ती एसी एक–दुई दिनमै अस्पतालमा आइपुग्ने अध्यक्ष गुप्ताले जानकारी दिए।
मंगलबार प्राप्त ६ थान एसीहरू अस्पतालको ४० शैयाको मेडिकल वार्डमा जडान गरिनेछ। एसी जडानपछि बिरामीहरूले सहज र सन्तोषजनक उपचार सेवा प्राप्त गर्न सक्ने अस्पताल प्रशासनको विश्वास छ।
स्थानीय तहको यस्तो सहकार्य र सहानुभूतिपूर्ण योगदानलाई अस्पताल प्रशासनले स्वागत गर्दै अन्य निकायहरूलाई पनि यस्ता सकारात्मक पहलकदमीमा सहभागी हुन आग्रह गरेको छ।

















