४ भदौ, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिता सुरु हुनु अघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली पूर्ण रूपमा तयार रहेको बताएका थिए । उनले अघिल्लो संस्करण खेलेका खेलाडीको अनुभव र पोजिसनअनुसार निखारिएको प्रदर्शनले नेपाललाई उपाधि जित्ने लक्ष्यमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
“साफ च्याम्पियनसिपको मुख्य उद्देश्य खेलाडी विकास पनि हो । यस्ता प्रतियोगिताबाट खेलाडीलाई सिक्ने र अनुभव प्राप्त गर्ने अवसर मिल्छ। तर हाम्रो मुख्य लक्ष्य भनेको उपाधि नै हो,” प्रशिक्षक श्रेष्ठले बताए ।
नेपालकी कप्तान भूमिका बुढाथोकीले पनि टोली सन्तुलित रहेको र जितकै लक्ष्यसहित मैदानमा उत्रिने बताइन्। “ड्रेसिङ रुममा सकारात्मक माहोल छ। सबैमा जित्ने भावना छ। सन्तुलित टोली भएकाले हामी आत्मविश्वासका साथ खेल्नेछौं,” कप्तान बुढाथोकीले भनिन् ।
१५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्। डबल राउण्ड रोबिन आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन्। अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग खेल्नेछ। दोस्रो चरणमा साउन ११ गते बंगलादेश र १३ गते भारतसँग भिड्ने कार्यक्रम छ। अन्तिम खेल साउन १५ गते घरेलु टोली भुटानसँग हुनेछ ।
नेपालले सन् २०२२ मा अन्डर–१५ संस्करणमा यस प्रतियोगिता जितेको थियो ।

















