Logo

४ भदौ, वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। ३२ मा रहेको नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

उद्योगको वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा कार्यरत बाराको जितपुरसिमरा वडा नं। १४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। चौधरीलाई करेन्ट लागेको दुई घण्टापछि नारायणी अस्पताल पुर्‍याइएको र अस्पतालले राति ३ बजे मृत घोषणा गरेको पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताउनुभयो।

मृतकका आफन्तहरूले उद्योगमा मजदुरहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण नभएकोले घटना भएको बताएका छन्। मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घटनाको छानबिन गर्नुपर्ने माग मजदुर संगठनहरूको छ।

अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले सञ्चालन गरेको सम्पूर्ण उद्योगमा मजदुरको ट्रेड युनियनसम्बन्धी अधिकार नभएको बताउनुभयो। उहाँका अनुसार, नारायणी स्टीलमा ठेकेदारमार्फत मजदुर राख्ने गरिएको र प्रचलित कानुनअनुसार कुनै पनि सुविधा नदिइएको अवस्था छ।

अध्यक्ष तिमिल्सिनाले संविधानले नै मजदुरलाई ट्रेड युनियन खोल्ने, सम्मानजनक श्रमको हक र सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने ग्यारेन्टी गरेको भए पनि उद्योगमा कार्यरत कुनै पनि मजदुरलाई तोकिएको सुविधा उपलब्ध नगराइएको बताउनुभयो।

उहाँले क्याल ग्रुपले सञ्चालन गरेका उद्योगहरूमा अनुगमन गर्न जाँदा समेत रोकिएको र मजदुरलाई कैदीजस्तो व्यवहार गर्ने गरिएको आरोप लगाउनुभयो। जोखिमपूर्ण काममा लगाइएका श्रमिकको सुरक्षाका लागि पर्याप्त सुरक्षा सामग्री उपलब्ध नहुँदा यस्ता घटना बारम्बार भइरहने गरेको मजदुरहरूको भनाइ छ।

यता, क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले रात्रिकालीन सिफ्टमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको खबर आफूले पाएको बताउनुभयो। उहाँले मृतक उद्योगको नियमित मजदुर नभए पनि दुर्घटना बिमा गरिएकोले नेपाल सरकारले तोकेअनुसारको क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिनुभयो।

पछिल्लो चरणमा आर्थिक मन्दीका कारण उद्योग राम्रोसँग चल्न नसकेकोले ठेकेदार कम्पनीमार्फत जनशक्ति लिने गरेको क्यालको भनाइ थियो। उहाँले सामानको अर्डर आएको समयमा मात्र उद्योग चल्ने भएकोले दैनिक ज्यालादारीमा मजदुर लिनुपर्ने बाध्यता रहेको बताउनुभयो। उद्योगमा पर्याप्त सुरक्षा अपनाएर काम गर्ने वातावरण बनाइए पनि दक्ष कामदारको अभावमा यस्ता दुर्घटना हुने गरेको उहाँको तर्क छ।

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधान र कानुनले गरेको व्यवस्थाको पालना नगर्ने नारायणी स्टील उद्योगविरुद्ध कानुनी प्रक्रियामा जान सकिने बताउनुभयो। यो घटनामा मजदुरलाई उचित क्षतिपूर्ति र परिवारको सदस्यलाई नियमित पेन्सनको व्यवस्था नगरिए कानुनी बाटो अपनाइने उहाँले चेतावनी दिनुभयो।


सम्बन्धित समाचार