प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको परमादेशपछि आकस्मिक बैठक आह्वान गरेको छ। मोर्चाका नेता केशव झाले जानकारी दिएअनुसार, बैठक आज साँझ ५ बजे थापागाउँस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकमा गौर हत्याकाण्डको छानबिन प्रक्रिया, रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। सर्वोच्च अदालतले गौर घटनाको अनुसन्धान गर्न अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा हलचल देखिएको छ। घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम जोडिँदै आएको छ।

यता, मोर्चाले प्रारम्भिक रूपमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि नाउपा आन्तरिक विवादका कारण निर्वाचनमा सहभागी हुन नसक्ने स्थितिमा पुगेको छ। यस्तोमा संरक्षक रेशम चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारलाई सघाउने विषयमा समेत आजको बैठकमा टुंगो लाग्नेछ।

त्यसैगरी, कांग्रेस–एमाले गठबन्धनले प्रतिनिधिसभाका उपसभामुख हटाउने तयारी गरिरहेकाले त्यसबारे मोर्चाको भूमिका निर्णायक हुने विश्लेषण भइरहेको छ। प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि मोर्चामा आबद्ध दलहरूको समर्थन आवश्यक पर्ने हुँदा मोर्चाको निर्णय राजनीतिक रूपमा प्रभावशाली हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार