Logo

४ भदौ, काठमाडौं ।  दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान आक्रमण भएको छ। जनसुनुवाइको क्रममा आफ्नै निवासमा नागरिकहरूसँग भेटघाट गरिरहेकी मुख्यमन्त्रीमाथि एक व्यक्तिले हातपात गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरण अनुसार, एक व्यक्तिले मुख्यमन्त्री गुप्तासँग कुराकानीका क्रममा अचानक थप्पड हानेका थिए। त्यसपछि उनले मुख्यमन्त्रीको हात समातेर लछारपछार गर्न खोज्दा गुप्ताको टाउको टेबलमा ठोक्किएको बताइएको छ। यस क्रममा उनी केही घाइतेसमेत भएकी छन्।

आक्रमणपछि सुरक्षाकर्मीहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। दिल्ली प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाबारे प्रतिक्रिया दिंदै भारतीय जनता पार्टी (भाजपा) दिल्ली प्रदेश अध्यक्ष विरेन्द्र सचदेवले गम्भीर ढंगले व्याख्या नगर्न आग्रह गर्दै भने, “केहीले ढुंगाले हानिएको मनगढन्त कुरा गरिरहेका छन्। हुन सक्छ उहाँको टाउको टेबलमा लागेको हो।” उनले आक्रमणकारीले मुख्यमन्त्रीलाई तान्ने प्रयास मात्र गरेको दाबी गरे।

यसैबीच, दिल्ली विधानसभामा प्रतिपक्षी नेता तथा आमआदमी पार्टी (आप) की नेतृ आतिशीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा प्रतिक्रिया दिँदै घटनाको तीव्र निन्दा गरेकी छन्। उनले लेखेकी छन्, “लोकतन्त्रमा असहमति र आलोचनाको ठाउँ छ, तर हिंसाको कुनै स्थान छैन। आशा छ दोषीमाथि दिल्ली प्रहरीले कडाभन्दा कडा कारबाही गर्नेछ। मुख्यमन्त्री पूर्ण रूपमा सुरक्षित हुनुहुनेछ भन्ने विश्वास छ।”

मुख्यमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ। घटना पछिको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।


सम्बन्धित समाचार