४ भदौ, काठमाडौं । नेपाली कृषिमा आधारित उद्योग र व्यवसायको विकास तथा विस्तारका लागि राजधानी काठमाडौंमा ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ नामक नयाँ कम्पनी स्थापनाको तयारी थालिएको छ। कृषि क्षेत्रमा लगानीमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र जनजीवनको स्तर सुधार गर्ने लक्ष्यसहित यो फण्ड स्थापना गरिएको हो।
हालसम्म कृषि क्षेत्रलाई प्राथमिकता दिइए पनि सही उद्यमीहरूले पर्याप्त सहयोग नपाएको, बैंक कर्जाको चर्को ब्याज र किस्ताको भार तथा आवश्यक विशेषज्ञ सेवाको अभावले उद्योग व्यवसायहरू समस्यामा परिरहेको पृष्ठभूमिमा यो कम्पनी अघि बढाइएको हो।
निजी क्षेत्रको अग्रसरता
बीरगंज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक–बीमा क्षेत्रका सफल व्यक्तित्वहरूको सहकार्यमा कम्पनीको स्थापना गरिएको हो। नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह, कृषि उद्यमी शिवजी कलवार समूह लगायत बैंक तथा बीमा विज्ञहरू कम्पनीका मुख्य प्रवर्धक हुन्।
कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड ले सबैभन्दा धेरै २३.३३ प्रतिशत लगानी गरेको छ।
अधिकृत पूँजी ५० करोड, चुक्ता पूँजी १० करोड
२०८२ सालको असारमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेको यो कम्पनीको अधिकृत पूँजी ५० करोड र तत्कालीन चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। प्राइभेट इक्विटी कारोबारको लागि आवश्यक स्वीकृति लिन नेपाल धितोपत्र बोर्डमा पनि प्रस्ताव पेश भइसकेको कम्पनी स्रोतले जनाएको छ।
सञ्चालक समिति
पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई रहेका छन् भने अन्य सदस्यहरूमा विजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।
एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडको मुख्य उद्देश्य कृषिमा आधारित उद्यमहरूलाई इक्विटी साझेदारका रूपमा लगानी उपलब्ध गराउने र आवश्यक प्राविधिक तथा व्यवस्थापन सेवा प्रदान गर्नु हो। परम्परागत रूपमा बैंक कर्जामा मात्र भर पर्नुपर्ने प्रवृत्तिमा सुधार ल्याई जोखिम साझा गर्ने ढाँचामा नयाँ विकल्पको विकास कम्पनीको लक्ष्य रहेको छ।
राज्य, संघीय सरकार तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग प्रारम्भिक समन्वय थालिएको र कृषिमा सहयोग गर्न इच्छुक संघ–संस्था तथा व्यक्तिगत लगानीकर्ताहरूको अनुत्पादक पूँजीलाई कृषिमा केन्द्रित उद्यममा परिचालन गर्न कम्पनी तयार रहेको बताइएको छ।
कृषि उद्यमशीलता र लगानीको क्षेत्रमा नयाँ ढोका खोल्ने आशासहित यो कम्पनीको सञ्चालनलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

















