Logo

४ भदौ, काठमाडौं । नेपालमा कृषि उद्यमलाई बढावा दिन ‘एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड’ नामक नयाँ कम्पनी स्थापना भएको छ ।

अनुत्पादक पुँजीलाई सङ्कलन गरी कृषिमा आधारित उद्योगहरूमा इक्विटी सेयरको रूपमा लगानी गर्ने उद्देश्यले उक्त कम्पनीको स्थापना भएको हो । यसको मुख्य लक्ष्य अनुत्पादक पुँजीलाई सङ्कलन गरी कृषिमा आधारित उद्योगहरूमा इक्विटी सेयरको रूपमा लगानी गर्नुका साथै विशेषज्ञ सेवा प्रदान गर्नु रहेको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।

कम्पनीको स्थापना वीरगञ्ज र काठमाडौँका उद्यमी, व्यवसायी र बैङ्क तथा बीमा क्षेत्रका विज्ञहरूको पहलमा भएको हो । कम्पनीको अधिकृत पुँजी पचास करोड र तत्कालको चुक्ता पुँजी दश करोड रुपैयाँ छ । यसले प्राइभेट इक्विटी कारोबारको इजाजतका लागि नेपाल धितोपत्र बोर्डमा श्रावण महिनाको दोस्रो सातामा आवेदन दिइसकेको छ ।

नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह यसका मुख्य प्रवर्धक हुन् । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको २३ दशमलव ३३ प्रतिशतको सबैभन्दा ठूलो लगानी रहेको छ । कम्पनीले बैंक कर्जाको बोझ र विशेषज्ञ सेवाको अभावमा रुग्ण भएका वा बन्द भएका कृषि उद्योगहरूलाई सहयोग गर्ने बताएको छ । यसले कृषि विकासको माध्यमबाट रोजगारी सिर्जना, आयात प्रतिस्थापन र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षता रमेश कुमार भट्टराई र सदस्यहरूमा विजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन् । कम्पनीले आफ्नो लक्ष्य प्राप्तिका लागि सरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि प्रारम्भिक सम्पर्क गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै