Logo

४ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपाका सांसद र कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंहले वीरगञ्जमा आयोजित जिल्लाको विस्तारित बैठकमा सुवेदीलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्।

लामो समयदेखि तत्कालीन राप्रपा नेपालमा सक्रिय रहेका सुवेदी केही समयदेखि पार्टीगत रूपमा निष्क्रिय थिए। पर्सामा केन्द्रीय पर्यवेक्षकको रूपमा कार्यरत सांसद सिंहले उक्त कार्यक्रममा उनलाई पार्टीमा प्रवेश गराएका हुन्।

पार्टी प्रवेश पछि सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्नुपर्नेमा जोड दिँदै देशको वर्तमान अवस्थालाई परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अलग अलग भएर हुँदैनन्, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्नुपर्छ।”

साथै, विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टी संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने, निष्क्रिय कमिटीलाई सक्रिय बनाउने र स्थानीय तहदेखि जिल्लास्तरको अधिवेशन समयमै गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन्।


सम्बन्धित समाचार