४ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी-२० सिरिज’ अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १ सय ४० रनको विजयी लक्ष्य दिएको छ। पार्मस्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ र लोकेश बमले २४ रनको योगदान दिए। मेलबर्न रेनेगेड्सका बलरहरूमध्ये फर्गस ओ’निल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान २-२ विकेट लिए।
यो सिरिजमा नेपालको यो पाँचौँ खेल हो। यसअघि लगातार तीन खेलमा पराजित भए पनि नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई हराएर पहिलो जित हासिल गरेको थियो। नेपालले पहिलो खेल आयोजक नर्दन टेरिटोरी स्ट्राइक्स, दोस्रो खेल बंगलादेश ‘ए’ र तेस्रो खेल मेलबर्न स्टार्ससँग हारेको थियो।
११ टोली सहभागी रहेको यस प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। नेपालले अब आफ्नो अन्तिम लिग खेलमा पर्सि शुक्रबार पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आगामी आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरूप यो सिरिजमा भाग लिएको हो।

















