४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति खुला असहमति जनाएका छन्। कांग्रेस र एमालेबीच उपसभामुख हटाउने सहमति बनेपछि सांसदहरूसँग हस्ताक्षर संकलन भइरहेका बेला शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको तयारीमा भैरहवामा रहेका शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने, “उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु।”
उनका अनुसार उपसभामुखले अमेरिका भ्रमणका क्रममा अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर त्रुटि भए पनि त्यसका आधारमा पदमुक्त गर्नु अनुपयुक्त र असंवेदनशील निर्णय हुनेछ।
शर्माले भने, “प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यही बेला उनी विदेशमै हुँदा पदमुक्त गर्न हस्ताक्षर संकलन गर्नु कति सुसंस्कृत व्यवहार हो?”
उनका अनुसार आफू हाल पार्टीको काममा व्यस्त रहेको र हस्ताक्षरमा सहभागी नभएको पनि स्पष्ट गरे। “काठमाडौँ फर्केपछि यो बेठीक भएको कुरा पार्टीभित्र छलफलमा उठाउनेछु,” उनले बताए।
उपसभामुख इन्दिरा रानामगर हाल अमेरिका भ्रमणमा छिन्। तर, उनको अनुपस्थितिमा हटाउने प्रक्रिया अघि बढाइँदा राजनीतिक र नैतिक प्रश्नहरू उठिरहेका छन्। शर्मा पार्टीभित्रैबाट यसको खुला विरोध गर्ने पहिलो शीर्ष नेता बनेका छन्।















