Logo

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको राजनीतिक आक्रमणको घोर भर्त्सना गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उक्त आक्रमणलाई लोकतान्त्रिक मूल्य र मर्यादामाथिको गम्भीर हमला भएको बताएका छन्।

प्रमुख सचेतक परियारले बालुवाटार, बुढानीलकण्ठ र सिंहदरबारमा भएका बैठकहरूमा उपसभामुखमाथि भइरहेको व्यवहारप्रति आपत्ति जनाउँदै, रास्वपाको तर्फबाट कडा विरोध जनाएका हुन्।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीबाट पठाइएकी, हाल सदस्य नरहेकी भए पनि प्रतिनिधिसभाको उपसभामुख जस्तो जिम्मेवार पदमाथि भएको आक्रमण लोकतन्त्रका लागि ठूलो खतरा हो।”

मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले संसदको गरिमालाई चोट पुर्‍याएको भन्दै परियारले सांसदहरूलाई गम्भीर विवेचनाका लागि आग्रह गरे। उनले थपे, “लोकतन्त्रको विरासत बोकेका भनिने शक्तिहरूबाट सम्मानित सदन र पदमाथि गरिएको अवमूल्यन अस्वीकार्य छ।”

रास्वपाले उपसभामुखको पदलाई दलगत स्वार्थमा प्रयोग गर्न खोजिएको संकेत गर्दै, यसले संसदीय प्रणालीको आधारभूत मूल्यमा आघात पुर्‍याएको ठहर गरेको छ।

रास्वपाले संविधान, लोकतन्त्र र संस्थागत मर्यादा रक्षा गर्न सबै राजनीतिक दलहरूलाई सचेत रहन पनि अपिल गरेको छ।


सम्बन्धित समाचार