४ भदौ, काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्यत्र सारिएकोप्रति गम्भीर आपत्ति जनाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै इलाम क्षेत्र नम्बर २ का सांसद नेम्वाङले सो कार्यालय हटाउने निर्णयले इलाम, ताप्लेजुङ र पाँचथरका हजारौं नागरिकको सेवा पहुँच गुम्ने र सेवाप्रवाहमा कमजोरी आउने खतरा बढ्ने तर्क गरे।
“सेवा टाढा होइन, नजिक ल्याउनु सुशासनको आधार हो”
नेम्वाङले भने, “खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई इलामबाट हटाएर अन्यत्र सारिएको छ। यसले जनतालाई मात्र होइन, सम्पूर्ण सेवाप्रवाह प्रणालीलाई नै कमजोर बनाउने खतरा बोकेको छ।”
उनले सेवाको पहुँच नजिक लैजानुपर्ने भन्दै पुनः इलाममै कार्यालय राख्न वा विकल्प स्वरूप पूर्ण सेवायुक्त कार्यालय स्थापना गर्नुपर्ने माग गरे।
सरकार र मन्त्रालयलाई ध्यानाकर्षण
“सेवाप्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो,” उनले भने, “त्यसैले म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउँछु — यथासिघ्र कार्यालय इलाममै कायम गरियोस्, वा पूर्ण सेवायुक्त कार्यालय स्थापना गरियोस्।”
सांसद नेम्वाङको यो धारणा सुदूर भेगका नागरिकलाई सेवा प्रदान गर्ने सवालमा सरकारको कार्यशैलीप्रति जनस्तरको असन्तुष्टि झल्काउने खालको देखिएको छ। स्थानीयस्तरमै सेवा प्रवाह सुनिश्चित गर्न दबाब बढ्न थालेको संकेत पनि यसले दिन्छ।















