Logo

४ भदौ, काठमाडौं उपत्यकाका सार्वजनिक र नदी किनारका जग्गा अतिक्रमणमा ठूला र प्रभावशाली व्यक्तिहरू नै संलग्न रहेको पाइएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त शुभाष बस्नेतले बुधवार आयोजित पत्रकार सम्मेलनमा उच्चपदस्थ व्यक्तिहरू र नाम चलेका विद्यालयहरूले सार्वजनिक जग्गा कब्जा गरेको जानकारी दिए ।

उनले काठमाडौंमा मात्रै कम्तीमा एक लाख रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको अनुमान गरेका छन् । २०२१, २०४४ र २०५६ सालको नापीको तथ्यांक अध्ययन गर्दा धोबीखोलामा मात्रै २०० रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ भने नदी किनारको जग्गा अतिक्रमणको कुल क्षेत्रफल ३ हजार रोपनी रहेको उनले बताए । यी जग्गाहरू अहिले व्यक्तिहरूको नाममा दर्ता भइसकेको र ’साना झुपडीवालाले नभई ठूलाठूला मान्छे, नाम चलेका स्कुल र विश्वास गर्नै नसकिने मान्छे’ ले कब्जा गरेको उनले बताए। उनका अनुसार, तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्न सक्ने जति ठाउँ अतिक्रमण भएको छ ।

अतिक्रमणकारीलाई नियन्त्रणमा लिन प्राधिकरणले सम्पत्ति रोक्का गर्ने काम सुरु गरिसकेको छ । माधवनारायण खोलामा सार्वजनिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरूको सम्पत्ति रोक्का गरिसकेको उनले जानकारी दिए । यसका साथै, चैत ३ गतेदेखि अवैध प्लटिङको कित्ताकाट पनि रोकिएको छ, जसबाट हालसम्म १ हजार १५० कित्ता रोक्का भएको छ ।


सम्बन्धित समाचार