Logo

४ भदौ,सेढवा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अहिले पनि रासायनिक मल, विशेषगरी यूरियाको अभाव तीव्र रुपमा देखिएको छ। धानबाली रोपाइपछिको दोस्रो पटक मल छर्ने समयमा किसानहरूले आवश्यक मल नपाउँदा बाली सुक्ने अवस्थामा पुगेको गुनासो गरेका छन्।

जिराभवानी गाउँपालिका–३, नौकाटोलाका किसान शंकर चौधरीले भने, “हामीले बालीमा मल छर्नका लागि सिचाइमा दुई पटक हजारौं रुपैयाँ खर्च ग¥यौं, तर अहिले मल नपाएर त्यो पानी पनि सुकिसक्यो, बाली विकास नै रोकिएको छ।”

यही अवस्थाको प्रतिविम्ब गाउँका अन्य किसानहरूको पीडामा पनि देखिन्छ। पाच बिघा जमिनमा धान लगाएका किसान बिरेन्द्र दहितले भने, “मलाई जम्मा २५ किलो यूरिया मल मात्र मिल्यो, त्यो बिघा अनुसार गन्ने हो भने त केही पनि होइन।”

आपूर्ति कम, माग उच्च

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले गाउँपालिकाको सिफारिसअनुसार सहकारी मार्फत मल पठाउने गरे पनि पठाइएको मात्रा आवश्यकता अनुरूप नपुगेको स्थानीय सहकारी संचालकहरू बताउँछन्। अधिकांश किसानले २०–२५ किलो मात्र मल पाएका छन्, जुन पर्याप्त नहुने उनीहरूको भनाइ छ।

भारतीय बजारबाट पनि राहत छैन

नेपाल–भारत सिमावर्ती भारतीय बजारहरू — भंगहा, धुमाटाड, जसौली, इनरवा, मैनाटाड, सिकटा र भेलाहीमा समेत यूरियाको अभाव देखिएको छ। भारतीय सरकारले आफ्ना नागरिकहरूलाई मात्र ४२० भारतीय रुपैयाँमा यूरिया बिक्री गर्दै आएको छ, जसले गर्दा नेपाली किसानलाई सो मल प्राप्त गर्न कठिन भएको छ।

कालोबजारीको सञ्जाल

कृषि सहकारी संस्थाहरूले अनुदानित मलको कालोबजारी गरेको किसानहरूको आरोप छ। किसानहरूका अनुसार, सहकारीका संचालकहरूले सरकारी अनुदानको मललाई बाटोमै बिक्री गरेर बाँकी मात्र किसानलाई वितरण गर्ने गरेका छन्।

जिराभवानी गाउँपालिका–१ मा नेपाली यूरिया मल प्रति बोरा २,२०० रुपैयाँ र भारतीय मल २,००० रुपैयाँमा खुलेआम बिक्री भइरहेको किसानहरूले जानकारी दिएका छन्।

पर्साको ग्रामीण क्षेत्रमा यूरिया मलको चरम अभावसँगै कालोबजारी नियन्त्रण हुन नसक्दा किसानहरू दोहोरो मारमा परेका छन्। सरकार र सम्बन्धित निकायको प्रभावकारी निगरानी तथा वितरण प्रणाली नहुँदा उत्पादनमा गम्भीर असर पर्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार