Logo

४ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा राजस्व संकलनमा उल्लेखनीय सफलता हात पारेको छ। साउन महिनामा मात्रै ११ करोड ३५ लाख २८ हजार ५९७ रुपैयाँ राजस्व संकलन गर्दै गत वर्षको सोही अवधिको तुलनामा दोब्बर वृद्धि भएको महानगरले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा महानगरले ५ करोड २१ हजार ८०० रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। यसपटकको संकलन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर भएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले जानकारी दिए।

उनका अनुसार, अघिल्लो वर्षभरि ६३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो। तर चालु वर्षको पहिलो महिनामै उत्साहजनक प्रगति देखिनु सुखद संकेत भएको उनले बताए।

करदातालाई लक्षित ‘घरदैलो अभियान’ प्रभावकारी

राजस्व संकलनमा आएको यो वृद्धि पछाडि महानगरपालिकाको ‘घरदैलो कर अभियान’ प्रभावकारी भएको देखिएको छ। सम्पत्ति, व्यवसाय र घरजग्गा कर संकलनमा करदातालाई प्रेरित गर्न सञ्चालन गरिएको अभियानमा मेयर राजेशमान सिंह स्वयं सक्रिय सहभागी बनेका थिए। साथै, प्रमुख प्रशासकीय अधिकृत अरबन्दिलाल कर्णसहित अन्य कर्मचारीहरूले समेत घरदैलो अभियानमा खटिएको महानगरले जनाएको छ।

महानगरले आगामी महिनाहरूमा पनि कर संकलनमा थप सुधार ल्याउने लक्ष्य लिएको छ। राजस्वमा आएको यो वृद्धिले स्थानीय विकासका योजनाहरूलाई थप सशक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार