४ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा आज बिहान भीषण आगलागी भएको छ। उद्योगमा भएको विद्युत् सर्टका कारण आगो लाग्दा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार बिहान ९ः४५ बजे उद्योगमा अचानक विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। फरजना खातुनको स्वामित्वमा रहेको तीनतल्ले पक्की घरको भुइँतल्लामा सञ्चालित उक्त उद्योगमा रहेका विभिन्न महत्त्वपूर्ण मेसिन र उपकरणहरू जलेर नष्ट भएका छन्।
घटनापछि प्रहरी चौकी परवानीपुर, सशस्त्र प्रहरी बल श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको करिब ३० जनाको टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सौभाग्यवश, आगलागीबाट कुनै पनि मानवीय वा चौपायाको क्षति नभएको पुष्टि गरिएको छ।
आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरणअनुसार करिब ३२ लाख रुपैयाँ बराबरको हिट ट्रान्सफर्मर मेसिन, २ लाख २० हजार रुपैयाँको सर्भो स्टेबलाइजर, ३ लाख रुपैयाँको रोलिङ मेसिन र २ लाख रुपैयाँको वाइरिङ पार्ट्स जलेर नष्ट भएका छन्। कुल क्षति अनुमानित ३९ लाख २० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

















