Logo

५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दोस्रो विधान महाधिवेशनको तयारीस्वरूप केन्द्रीय कमिटी बैठक बोलाएको छ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटी बैठक बस्ने जानकारी एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएका छन्।

बैठकमा महाधिवेशनमा पेस गर्न लागिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि छलफल हुने छ। उक्त प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्।

एमालेले मातहतका कमिटीलाई विधान संशोधनसम्बन्धी सुझाव पठाउन भदौ १० गतेसम्म समयसीमा तोकेको छ। ती सुझावलाई समेटेर प्रतिवेदन तयार गरी केन्द्रीय कमिटीमा पेस गरिने र छलफलपछि पारित गरिने सचिव अधिकारीले बताए।

यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ। महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित २ हजार ३९२ जनाको सहभागिता रहनेछ।


सम्बन्धित समाचार