५ भदौ,रुपन्देही । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को दर्ता अस्वीकृत गरेपछि पार्टीका संरक्षक रेशम चौधरी रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन्। चौधरीले यसका लागि संघीय लोकतान्त्रिक मोर्चाको समर्थन पाएका छन्।
बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको मोर्चाको बैठकले नाउपाको आधिकारिक उम्मेदवार चयनको जिम्मा रेशम चौधरीलाई दिने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिको तेस्रो बुँदामा भनिएको छ, “रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन प्रयोजनको लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ।”
यससँगै प्रचारप्रसार तथा निर्वाचन परिचालनको जिम्मा मोर्चा सचिवालयलाई दिइएको छ।
उपनिर्वाचन आगामी कात्तिक १७ गतेका लागि तोकिएको छ। दलको रूपमा मान्यता नपाएपछि चौधरी स्वतन्त्र उम्मेदवारीको तयारीमा छन्।
आयोगले नाउपाको दर्ता किन अस्वीकृत गर्यो?
नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक विवाद र कानुनी प्रक्रियामा चुकले पार्टी दर्ता प्रक्रियामा अड्चन ल्यायो।
रेशम चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते आयोगमा निवेदन दिएका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दिएकी थिइन्। आयोगले चौधरी पक्षले साउन १४ गते गरेको राष्ट्रिय भेला अवैध ठहर गर्दै त्यस भेला बाट चयन गरिएका अध्यक्ष लालवीर चौधरीलाई मान्यता दिएन।
यसैगरी रञ्जिता श्रेष्ठको निवेदन पनि आवश्यक कागजात अपूर्ण भएको भन्दै खारेज गरियो। आयोगका अनुसार उनले केन्द्रीय समितिको अनुमोदन र लेखापरीक्षण प्रतिवेदनसमेत पेश गरेकी थिइनन्। अर्कोतर्फ, पार्टीका २१ संस्थापक सदस्यमध्ये १३ जना रेशम चौधरी पक्षमा रहेको आयोगले जनाएको छ।
यसरी, दुवै पक्षले दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि निर्वाचन आयोगले नाउपाको दल दर्ता अस्वीकृत गर्ने निर्णय गरेको हो।
अब भने चौधरी संघीय लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारीमा अघि बढ्ने पक्का भएको छ। निर्वाचनको समीकरण यस घटनाले थप चाखलाग्दो बनेको छ।















