५ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना जैसवालले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रस्तावप्रति आपत्ति जनाउँदै यसले नेपालको शिक्षा प्रणालीलाई झनै कमजोर बनाउने चेतावनी दिएकी छन्।
सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै, सांसद जैसवालले कम्पनी ऐनअन्तर्गत सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई जबरजस्ती गैरनाफामूलक बनाउने कुरा व्यावहारिक र न्यायसंगत नभएको बताइन्।
उनको भनाइमा, “निजी विद्यालयले नाफा नै कमाउन नपाउने हो भने अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा कसरी सम्भव हुन्छ?” उनले शिक्षा सेवामूलक मात्रै हुनुपर्छ भन्ने धारणा असंवेदनशील र व्यवहारविहीन भएको पनि जिकिर गरिन्।
सांसद जैसवालको टिप्पणी हाल संसदमा छलफलरत विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयप्रति राखिएको व्यवस्थालाई लिएर भइरहेको बहसका क्रममा आएको हो। निजी क्षेत्रका विद्यालय सञ्चालकहरू पनि गैरनाफामूलक बनाउने प्रस्तावका विरुद्धमा आन्दोलनरत छन्।
समितिमा निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउने र निश्चित प्रतिशतमा छात्रवृत्ति दिनुपर्ने प्रस्तावमाथि छलफल जारी छ। सांसद जैसवालले भने शिक्षा क्षेत्रको सुधार सेवामूलक सोचले मात्र नभई व्यवहारिक संरचना र लगानीमैत्री नीतिमार्फत गर्नुपर्नेमा जोड दिइन्।















