५ भदौ, काठमाडौँ। इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको भन्दै परराष्ट्र मन्त्रालयले उनको खोजी र रिहाइका लागि सबै कूटनीतिक प्रयास जारी रहेको बताएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विपिनको परिवारले पनि उनको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाइरहेको जनाएको छ। मन्त्रालयका अनुसार, विपिनकी आमा र बहिनी हाल इजरायल पुगेका छन्। उनीहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत र अन्य पीडित परिवारका सदस्यहरूसँग भेटेर विपिनको रिहाइका लागि अनुरोध गरेका छन्। इजरायलस्थित नेपाली दूतावासले उनीहरूको भ्रमणलाई सहज बनाइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै विदेशस्थित सबै नेपाली राजदूतहरूलाई कतार, इजिप्ट लगायतका समकक्षीहरूसँग भेटेर नेपाल सरकारको चासो पुर्याउन निर्देशन दिएको जनाएको छ। यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग पनि छलफल गरेका छन् ।
मन्त्रालयले इजरायल र हमासबीच भएको अल्पकालीन युद्धविरामको स्वागत गर्दै मध्यस्थकर्ता राष्ट्रहरू कतार, इजिप्ट र अमेरिकासँग विपिनलाई रिहा हुने बन्दीको सूचीमा राख्नका लागि बारम्बार अनुरोध गरिएको जनाएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, विपिनको रिहाइका लागि सरकारले विभिन्न स्तरबाट पहल गरिरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी र कतारका समकक्षीहरूसँग भेटवार्तामा यो विषय उठाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्ट र टर्कीका राष्ट्रपतिहरूसँग टेलिफोन वार्तामार्फत सहयोग मागेका छन्। सभामुख देवराज घिमिरेले अरब संसदका सभामुखलाई पत्राचार गरेका छन्। परराष्ट्रमन्त्री लगायत विभिन्न मन्त्रीहरूले कतार, इजिप्ट, अमेरिका र इरान जस्ता देशका समकक्षीहरूसँग टेलिफोन तथा भेटघाट गरी सहयोगको अनुरोध गरेका छन् । यस घटनाले नेपाली कूटनीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा विपिनको सुरक्षित रिहाइका लागि दबाब सिर्जना गर्न सक्रिय बनाएको छ।















