Logo

५ भदौ,वीरगञ्ज । वीरगञ्जको पब्लिक फिटनेस सेन्टरमा बिहीबार इन्क्लाइन ह्यामर स्ट्रेन्थ प्रेस प्रतियोगिता सम्पन्न भएको छ ।पब्लिक फिटनेस सेन्टरमा बिहीबार सम्पन्न इन्क्लाइन ह्यामर स्ट्रेन्थ प्रेस प्रतियोगितामा वरिष्ठतर्फ विशाल यादव र कनिष्ठतर्फ सुमित कुमार पटेलले प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उपस्थित सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पब्लिक फिटनेस सेन्टरले स्वास्थ्य जागरणमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले क्लबका आगामी कार्यक्रमका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै गाउँपालिकाले युवाका लागि नयाँ जिम क्लब स्थापना गर्ने र त्यसको प्रशिक्षकको जिम्मेवारी पब्लिक फिटनेस सेन्टरका संस्थापक अध्यक्ष करण यादवलाई दिने बताए।

कुल ५२ जना सहभागी रहेको प्रतियोगितामा वरिष्ठ समूहमा अरुण साह द्वितीय र दिलीप महरा तृतीय भए। त्यसैगरी, कनिष्ठ समूहमा महेश्वर महतो द्वितीय र अभिषेक सर्राफ तृतीय भएका छन्।

विजेताहरूलाई नगद, प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरियो। वरिष्ठ समूहका प्रथम विजेताले १० हजार रुपैयाँ र कनिष्ठ समूहका प्रथम विजेताले ७ हजार रुपैयाँ नगद पुरस्कार पाए।

प्रतियोगितामा आशिफ अन्सारी, खालिद हुसेन र अकलेस पटेलले निर्णायकको भूमिका निभाएका थिए। कार्यक्रम संस्थापक अध्यक्ष करण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन अनिशकान्त कुशवाहाले गरेका थिए।

कार्यक्रममा नेपाल प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, रातोपानाका अध्यक्ष श्याम सर्राफ र स्ववियु सदस्य माला साह विशेष अतिथिका रूपमा उपस्थित थिए।


सम्बन्धित समाचार