Logo

५ भदौ, काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको सहमतिबिना भारत र चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दुःखद भएको बताएका छन्।

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको ऐतिहासिक तथ्यका आधारमा दुवै देशलाई यो सहमति सच्याउन आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै भारतले यो क्षेत्रलाई विवादास्पद भूमिका रूपमा स्वीकार गरिसकेको र परराष्ट्र सचिव स्तरीय संयन्त्रमा छलफल गरी समाधान गर्ने सहमति जनाइसकेको अवस्थामा पनि यस्तो कदम चालिनु नेपालको सार्वभौमिकता, स्वाभिमान र मित्र भावनामाथि गम्भीर चोट भएको ठहर गरेका छन्।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक नाकालाई व्यापारिक मार्ग बनाउने सहमति भएपछि नेपालले कूटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो। तर, अहिले फेरि भारत र चीनले नेपालको संवेदनशीलतालाई बेवास्ता गरेकोमा श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न चीन र भारत भ्रमणका क्रममा यो विवादित विषयलाई उठाउन र नेपालको सार्वभौमिकताको मूल्यमा कुनै सम्झौता नहुने कुरा स्पष्ट पार्न जोड दिएका छन्।


सम्बन्धित समाचार