प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

एआई सिर्जित तस्बिर

५ भदौ, काठमाडौँ। पर्यटक र अध्ययन भिसामा नेपाल प्रवेश गरी शंकास्पद धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा इन्डोनेशियाका तीन जना महिलालाई अध्यागमन विभागले पक्राउ गरेको छ।

अध्यागमन विभाग स्रोतका अनुसार, तीमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर, ती दुई महिला कुनै पनि शैक्षिक संस्थामा भर्ना नभएको, साथै भिसाको उद्देश्य विपरीत धर्म प्रचारमा संलग्न रहेको पाइएको छ।

धर्म प्रचार र होस्टेल सञ्चालन

उनीहरू ललितपुरको धोबीघाटस्थित ’हिमालय शिक्षा तथा हितेशी समाज’ नामक संस्थामा गल्र्स होस्टेल सञ्चालन गर्दै आएका थिए। सोही संस्थामा उनीहरूलाई ’शिक्षक’का रूपमा राखिएको पाइएको हो।

अध्यागमन विभाग स्रोतले जनाएको अनुसार, ती महिलाहरूले टर्कीस भाषा, कुरान सिकाउने कार्यका साथै मुस्लिम धर्मको प्रचारप्रसारमा संलग्न रहेकाले थप अनुसन्धान थालिएको छ।

अनुसन्धानका क्रममा उक्त संस्थाले प्रत्येक वर्ष झण्डै २ करोड ५० लाख रुपैयाँ विदेशी स्रोतबाट धर्म प्रचारका लागि प्राप्त गर्दै आएको पनि खुलासा भएको छ।

छात्राहरू शिक्षाबाट बाहिर

पक्राउ परेको बेलामा उक्त होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइरहेको अवस्थामा ती महिलाहरू फेला परेका थिए। ती छात्राहरू अन्य कुनै शैक्षिक संस्थामा भर्ना नभएको पाइएको हो।

त्यस्तै, ललितपुरकै ज्वागल क्षेत्रमा ब्वाइज होस्टेल पनि सञ्चालनमा रहेको र त्यसमार्फत विभिन्न जिल्लाका व्यक्तिहरूलाई धर्मसम्बन्धी प्रशिक्षण दिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कानुनी प्रावधान अनुसार कारबाही

अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार पर्यटक भिसामा आएका विदेशीले नेपालमा कुनै पनि किसिमको काम गर्न नपाउने व्यवस्था छ। साथै, भिसाको उद्देश्य विपरीत गतिविधि गर्नु गैरकानुनी ठहरिन्छ।

ऐन अनुसार, अनुसन्धानपछि दोषी ठहरिएमा ५० हजार रुपैयाँसम्म जरिवाना तथा नेपालबाट निष्कासन गरी पुनः प्रवेशमा रोक लगाउने व्यवस्था रहेको छ।

अध्यागमन विभागले इन्डोनेशियाका ती महिलाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। साथै, सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा संस्थाको आर्थिक स्रोत र उद्देश्यबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।


सम्बन्धित समाचार