Logo

६ भदौ, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गैरकानुनी रूपमा सम्पत्ति मूल्य वृद्धि गरी आर्थिक लाभ लिएको अभियोगमा लगाइएको ४६ करोड ४० लाख अमेरिकी डलरको जरिवाना न्यूयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले उल्ट्याएको छ।

गत फेब्रुअरी २०२४ मा न्यायाधीश आर्थर एन्गोरोन ले ट्रम्प र उनका दुई छोराहरू – एरिक ट्रम्प र डनाल्ड ट्रम्प जूनियर माथि नागरिक दण्ड स्वरूप भारी जरिवाना तोक्ने फैसला सुनाएका थिए। ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख डलर तिर्न आदेश दिइएको थियो भने छोराहरूलाई ४० लाख डलरभन्दा बढी तिर्न भनिएको थियो।

न्यायाधीश एन्गोरोनको फैसलामा भनिएको थियो कि ट्रम्प र उनको कम्पनीले बैंक ऋण तथा बीमा सर्तहरू अनुकूल पार्न आफ्ना सम्पत्तिको मूल्य कृत्रिम रूपमा बढाएर देखाएको प्रमाणित भएको हो।

तर बिहीबार ट्रम्पको अपिलमाथि सुनुवाइ गर्दै न्यूयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले पूर्व फैसला सदर गरे पनि, जरिवानाको आकार ‘अत्यधिक’ भएको टिप्पणी गर्दै त्यसलाई संयुक्त राज्य अमेरिकाको संविधानको आठौं संशोधन विपरीत ठहर गरेको हो। उक्त संशोधनले क्रूर वा असामान्य सजाय रोक्ने ग्यारेन्टी दिन्छ।

फैसलापछि ट्रम्प पक्षले यसलाई विचारशील न्यायको विजय भन्दै स्वागत गरेको छ, भने कानुनी विश्लेषकहरूले यो निर्णयले आगामी चुनावी अभियान र ट्रम्पका अन्य कानुनी मुद्दामा पनि मनोसामाजिक प्रभाव पार्न सक्ने देखेका छन्।

यस निर्णयसँगै ट्रम्पलाई तत्काल ठूलो आर्थिक दायित्वबाट राहत मिलेको छ, तर सम्पत्ति हेरफेरको मुद्दामा अदालतले उनी दोषी रहेको ठहर भने यथावत् राखेको छ।


सम्बन्धित समाचार