६ भदौ, काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्दैछ। यो सिरिजको समूह चरण अन्तर्गतको छैटौं र अन्तिम खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।
सिरिजमा नेपालले हालसम्म ५ खेल खेलेको छ, जसमा सुरुका तीन खेल हार व्यहोरे पनि चौथो र पाँचौं खेलमा क्रमशः होबर्ट हरिकेन्स र मेलबर्न रेनेगेड्स एकेडेमीलाई हराउँदै लगातार दुई जित हात पारेको छ। आजको खेलमा नेपालले लगातार तेस्रो जितका लागि पाकिस्तान शाहिन्ससँग भिड्नेछ।
यस प्रतियोगितामा जम्मा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। सिरिजको समापनपछि नेपालले अस्ट्रेलियामा नै अभ्यास खेलहरू खेल्ने तयारीमा छ। दोस्रो शृंखलामा नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टोलीसँग खेल्नेछ।
नेपालको यी तयारी खेलहरू आगामी टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि महत्वपूर्ण हुनेछन्। उक्त छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ, जहाँ नेपाल समूह ‘बी’ मा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस अन्तिम चरणको छनोटबाट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको टिकट पाउनेछन्।
नेपाल क्रिकेट टोलीका लागि यो सिरिज र छनोट खेलहरू विश्वकप प्रवेशका लागि महत्वपूर्ण अवसर सावित हुने अपेक्षा गरिएको छ।

















