६ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ का संजयकुमार साह र बाराका शनिकुमार ठाकुर रहेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इदगाहचोक क्षेत्रमा जाँच गर्दा उनीहरू प्रयोग गरेको मोटरसाइकलको फल्स सिलिङबाट १४ लाख १३ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो। पक्राउ परेका दुवैले उक्त रकमको स्रोत खुलाउन नसकेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
बरामद रकममध्ये १० लाख रुपैयाँ हजार दरका नोटमा र ४ लाख १३ हजार रुपैयाँ पाँच सय दरका नोटमा रहेको छ। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनालाई हुण्डी कारोबारसँग जोडेर अनुसन्धान अघि बढाइरहेको छ।















