६ भदौ, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा प्रहरीले राजश्व छली गरेर ल्याइएको १ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित एकजना चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्ति सामान पुर्याउने भरिया मात्र भएको र मालिकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा लु २ च ६३०३ नम्बरको पिकअप जीपमा शङ्का लागेपछि रोकिएको थियो । जाँचका क्रममा बिलबिनाका अवैध भेप, फ्लेभर र प्याकेजिङका सामानहरू फेला परेको जिल्ला प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
प्रहरीका अनुसार, मायादेवी गाउँपालिका-४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त पिकअपबाट विभिन्न प्रकारका ५८६१ वटा इलेक्ट्रोनिक भेप, २७ कार्टुन फ्लेभर, इलेक्ट्रिक मिक्सचर र प्याकेजिङका सामानहरू बरामद भएका छन् । प्रहरी नायब उपरीक्षक कार्कीले भने, “पक्राउ परेका बनियाँ सामान पुर्याउने भरिया मात्रै देखिएका छन् । उनले १५ सय रुपैयाँ भाडाबापत पाउने बताएका छन्, तर कहाँ पुर्याउने र कसको सामान भन्ने बारेमा केही खुलाएका छैनन् ।”
बरामद गरिएका सम्पूर्ण सामान, गाडी र चालकलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।















