६ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पदभार ग्रहण गरेयता १७ पटक विदेश भ्रमण गरेकोमा १० पटक सभामुखको स्वीकृति नलिई गएको खुलेको छ ।
यस विषयमा नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा प्रश्न उठाएका छन् । बिहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले उपसभामुखको आचरणमाथि प्रश्न गर्दै भने, “जनप्रतिनिधिहरूको थलो सम्मानित सदनको नेतृत्व गर्ने व्यक्ति यसरी जाँदा आम नागरिकले कसरी बुझ्ने ?”
औपचारिक र अनौपचारिक भ्रमणको विवरण
उपसभामुख राना मगरले ७ वटा औपचारिक र १० वटा अनौपचारिक भ्रमण गरेको दावी गरिएको छ । उनले औपचारिक भ्रमणको रुपमा सन् २०२३ मा सिंगापुर र चीनमा भएका अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी, सन् २०२४ मा रसिया र चीनका विभिन्न कार्यक्रममा उपस्थिति र सन् २०२५ मा बङ्गलादेशको भ्रमण गरेका छन् ।
अनौपचारिक भ्रमणहररुमा ४ पटक अमेरिका, ३ पटक भारत, १–१ पटक स्पेन, बङ्गलादेश र हङकङको भ्रमण रहेको चर्चा छ ।
सभामुखको सचिवालय के भन्छ?
सभामुखको सचिवालयका अनुसार, उपसभामुखले १० वटा भ्रमणबारे ‘सामान्य’ जानकारी गराए पनि तिनलाई ‘औपचारिक रूपमा स्वीकृत’ नगराएको पाइएको छ । हाल सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख राना मगरलाई पदबाट हटाउन आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको बेला यो भ्रमणको सूची सार्वजनिक भएको हो । रास्वपा भने यो कदमको विरोधमा उभिएको छ ।

















