प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ,वीरगञ्ज । सहकारी क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूबीच शुक्रवार वीरगंजस्थित मकालु होटलमा एकदिने प्रदेशस्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव जयप्रसाद पौडेलले प्रोजेक्टरमार्फत सहकारी क्षेत्रमा देखिएका प्रमुख चुनौतीहरू, उपभोक्ताका अधिकार र समाधानका सम्भावित उपायहरूको प्रस्तुति दिए। उनले पारदर्शिता, जवाफदेहिता र नियमनको अभावका कारण सहकारीहरूमा विकृति बढ्दै गएको बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

बैठक उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य धिरज शर्माको अध्यक्षता र वीरगंज महानगरपालिकाका नगरप्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै मेयर सिंहले सहकारी क्षेत्रलाई जनताको आर्थिक मेरुदण्ड को रूपमा उल्लेख गर्दै यसको विश्वसनीयता जोगाउन साझा पहल आवश्यक भएको बताए। “सहकारी बचतकर्ताको पसिनाको कमाइ हो, यसको संरक्षण गर्न सरकार, सञ्चालक र उपभोक्ताबीच आपसी समन्वय अपरिहार्य छ,” उनले भने।

कार्यक्रममा नेपाल बार एशोसिएसन वीरगंजका अध्यक्ष रामनारायण कुर्मी, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अध्यक्ष सुनिल श्रेष्ठ, पर्सा जिल्ला सहकारी संघका अध्यक्ष हरेन्द्र सिंह, तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेलको पनि सक्रिय उपस्थिति थियो।

बैठकमा सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुशिल अग्रवाल, सदस्य सजीव शर्मा र विनोद गुप्ताले पीडितहरूका समस्याहरू तथा भोगेका पीडाहरू बैठकमा राख्दै तिनको समाधानको लागि दबाबमूलक नीति अवलम्बन गर्न आग्रह गरे।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अजित भुजेलले गरेका थिए। समन्वय बैठकबाट सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म एकीकृत कदम चाल्नुपर्ने सुझावहरू प्रस्तुत भएका थिए।

सहभागीहरूका अनुसार यस्ता छलफलहरूलाई नियमितता दिई समस्या समाधानतर्फ ठोस पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।


सम्बन्धित समाचार