६ भदौ,वीरगञ्ज । भारतीय भूमि पत्तन प्राधिकरण रक्सौल तथा लायन्स क्लब अफ रक्सौलको संयुक्त आयोजनामा एसआरपी मेमोरियल अस्पतालको सहयोगमा रक्सौलस्थित आईसीपी परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २५० भन्दा बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएका छन्।
शिविरमा एसआरपी मेमोरियल अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक डा. सुजीत कुमारको नेतृत्वमा युरिक एसिड, ब्लड प्रेसर, ब्लड सुगरजस्ता रोगहरूको परीक्षण गरिएको थियो। परीक्षणपश्चात आवश्यक देखिएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गर्नुका साथै विशेषज्ञसँग परामर्श लिन सल्लाह दिइएको थियो।
शिविरको क्रममा डा. सुजीत कुमारले भने, “आजको व्यस्त जीवनशैलीमा मानिसहरू स्वास्थ्यप्रति लापरवाह छन्। मधुमेह, उच्च रक्तचापजस्ता रोगहरू तीव्र रूपमा बढिरहेका छन्, जसलाई समयमै परीक्षण, सन्तुलित खानपान र नियमित व्यायामबाट नियन्त्रण गर्न सकिन्छ।”
उक्त अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष विमल कुमार सर्राफ र कोषाध्यक्ष मोहम्मद निजामुद्दिनले क्लबले समाजसेवाका साथै स्वास्थ्य चेतना अभिवृद्धिका लागि यस्ता शिविरहरू निरन्तर आयोजना गर्दै आएको जानकारी दिए।
शिविरमा डा. सोनाली, डा. मनिता, डा. एस.के. सिंह, डा. एस.के. मिश्र, डा. इजहार, डा. अब्दुल्लाह, डा. प्रीतमलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा सहभागी चिकित्सक तथा संस्थाहरूलाई भूमि पत्तन प्राधिकरण रक्सौलका प्रबन्धक राजीव रञ्जनले दोसाला ओढाएर तथा प्रतीकचिन्ह प्रदान गर्दै सम्मान गरेका थिए। यस्तै, लायन्स क्लब अफ रक्सौलले पनि राजीव रञ्जन र डा. सुजीत कुमारलाई अंगवस्त्र र क्लबको ‘लायन पिन’ प्रदान गर्दै सम्मानित गर्यो।
कार्यक्रममा लायन्स क्लबका अध्यक्ष विमल सर्राफ, सचिव मोहम्मद निजामुद्दिन, एसआरपी अस्पतालका निर्देशक लायन संजय गुप्ता, लायन डा. सुशील कुमार सिंह लगायतको विशेष भूमिका रहेको थियो।

















