६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, “कसैको सदस्यता खोसिएको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।” ओलीका अनुसार, विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा जानका लागि पार्टीको सदस्यता छाडेकी थिइन् । उनले भने, “छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ ।” उनले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीभित्र यस्तो समस्या खडा गर्छ भन्ने कल्पना समेत नगरेको बताए । ओलीले पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जन्मदिन मनाउने बहानामा पार्टीविरुद्ध भेला गर्ने र चुनाव हारेकाहरूलाई जम्मा गर्दै हिँडेको भन्दै उनका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले पार्टीको एकतामा बल पुर्याउनुपर्ने बेलामा भण्डारीले असन्तुष्टहरूको भेला गरेर पार्टी कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।

















