प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ,वीरगञ्ज । सूर्य नेपाल प्रा.लि.ले वीरगञ्जका दुई सामुदायिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३२ मा रहेको मनमिश्र आधारभूत विद्यालय र वडा नम्बर ३१ मा रहेको सोलकपुर माध्यमिक विद्यालयमा शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी ल्याबहरू हस्तान्तरण गरिएका हुन्।

मनमिश्र आधारभूत विद्यालयमा १० वटा कम्प्युटर, एउटा प्रिन्टर र एउटा यूपीएस (ग्लष्लतभचचगउतष्दभि एयधभच क्गउउथि)सहितको कम्प्युटर ल्याब उपलब्ध गराइएको छ। यसबाट विद्यार्थीहरूले प्रत्यक्ष रूपमा डिजिटल शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्। त्यसैगरी, सोलकपुर माध्यमिक विद्यालयमा १५ वटा कम्प्युटर, एउटा प्रिन्टर र एउटा यूपीएससहितको अत्याधुनिक ल्याब स्थापना गरिएको सूर्य नेपालका यज्ञबहादुर आलेले जानकारी दिए।

शिक्षामा प्रविधिले ल्यायो ठूलो उपलब्धि

मनमिश्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि भित्र्याउनु ठूलो उपलब्धि भएको बताए। उनले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो सहयोगले बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

शिक्षक र अभिभावक उत्साहित

विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीको सिकाइ थप व्यावहारिक र प्रविधिमैत्री हुने बताएका छन्। उनीहरूका अनुसार यस प्रकारको सहयोगले विद्यार्थीहरूमा डिजिटल सीप, अनुसन्धान गर्ने क्षमता र भविष्यमा प्रतिस्पर्धी बन्ने योग्यताको विकास हुनेछ।

सूर्य नेपालले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासलगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। कम्पनीले यसपटक कम्प्युटर ल्याब स्थापना गरेर विद्यार्थीहरूलाई २१ औं शताब्दीको डिजिटल शिक्षासँग जोड्ने प्रयास गरेको जनाएको छ।


सम्बन्धित समाचार