प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ, महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौर हत्याकाण्डको अनुसन्धानमा तत्कालीन माओवादी नेता प्रभु साहको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

बर्दिवासमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिंसा भड्काउन मुख्य भूमिका खेलेका साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरे।

सर्वोच्च अदालतको आदेशपछि घटनाको अनुसन्धान अघि बढ्नु स्वाभाविक प्रक्रिया भएको बताउँदै पोखरेलले दोषीले कारबाही भोग्नुपर्ने र निर्दोषले नडराए हुने बताए। उनले यस घटनामा एमालेको कुनै संलग्नता नरहेको दाबी पनि गरे।

पोखरेलले घटनाका दिन माओवादी र मधेसी फोरमले आ-आफ्नो कार्यक्रम राखेको अवस्थामा प्रभु साह पक्षका नेताहरूले उत्तेजना फैलाएको आरोप लगाए। ‘यदि प्रभु साहले जिम्मेवार नेताको भूमिका निर्वाह गरेको भए, त्यो दिन गौरमा हिंसा हुने थिएन,’ उनले भने, ‘तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उत्तेजना फैलाए, जुन कुनै जिम्मेवार नेताको कदम हुन सक्दैन।’

महासचिव पोखरेलले एमाले शान्ति र संवादको पक्षमा रहेको र प्रतिशोधको राजनीति नगर्ने बताए। यद्यपि, समाजमा अस्थिरता र हिंसा फैलाउने प्रयास गर्ने जो कोहीमाथि पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।

एमाले मधेस प्रदेश कमिटीद्वारा आयोजित यस कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल लगायतका नेताहरूको उपस्थिति थियो। कार्यक्रमले पार्टीको विधान संशोधन सम्बन्धी सुझावहरू सर्वसम्मतिले पारित गरेको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार