Logo

७ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हेर्ने दिन अर्थात् भाद्र कृष्ण औँसी (कुशे औँसी) का अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत जीवित पिताप्रति नमन र दिवङ्गत पितृप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुबाको मुख हेर्ने दिनले पिताप्रति सम्मान र कृतज्ञताको भाव प्रकट गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहानै आफ्ना ९६ वर्षीय बुबासँग आशीर्वाद लिएको जानकारी पनि सार्वजनिक गरेका छन्। ‘कान अलिक कम सुन्नुहुन्छ तर अझै पुस्तक पढ्न चस्माको आवश्यकता पर्दैन, नजिकसम्म हिँडडुल गर्न सक्नुहुन्छ,’ ओलीले भनेका छन्, ‘बुबासँग उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको दीर्घायु र उत्तम स्वास्थ्यको कामना गर्दछु।’

आफू चार वर्षकै उमेरमा आमा गुमाएको स्मरण गर्दै ओलीले आमाको अनुहारको धमिलो सम्झना मात्र बाँकी रहेको बताएका छन्। उनले बुबाको मुख हेर्ने दिन परम्परागत रूपमा पिताप्रति सम्मान व्यक्त गर्ने अवसर भए पनि मातापिता सधैँ आदर र सम्मानको पात्र रहनेमा जोड दिएका छन् ।

भाद्र कृष्ण औँसीका दिन छोराछोरीले बाबुलाई मनपर्ने मिठाई र भोजन खुवाएर सम्मान प्रकट गर्ने परम्परा छ। टाढा रहेका सन्तान समेत बाबुको दर्शन गर्न आउने भएकाले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।


सम्बन्धित समाचार