७ भदौ, काठमाडौँ । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार भयावह बस दुर्घटना हुँदा पाँच पर्यटकको मृत्यु भएको छ। नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटना बफेलो सहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक भन्ने स्थान नजिक भएको प्रहरीले जनाएको छ। बसमा भारत, चीन र फिलिपिन्स मूलका पर्यटकहरू सवार थिए।
न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिँदै भने, “चालकको ध्यान केही समयका लागि अन्यत्र गएका कारण गाडीको सन्तुलन गुम्यो। सुधार गर्न खोज्दा गाडी झनै अनियन्त्रित भई दुर्घटना भएको देखिन्छ।”
बसमा कुल ५४ जना यात्रु सवार थिए। प्रारम्भमा बालबालिकाको मृत्यु भएको भन्ने जानकारी आए पनि पछि त्यसको पुष्टि हुन सकेन। बालबालिकाको मृत्यु नभएको प्रहरीले स्पष्ट पारेको छ।
दुर्घटनामा छ जना चिनियाँ नागरिक पनि सवार थिए। तीमध्ये पाँच जनालाई सामान्य चोट लागेपछि उपचार गरेर घर पठाइएको छ भने एक जना अझै उपचारमा रहेका छन्।
बसले सोही दिन सीमावर्ती नियाग्रा जलप्रपातको भ्रमण गरेर फर्कने क्रममा दुर्घटना भएको हो। दुर्घटनापछि उद्धार कार्यमा स्थानीय प्रहरी, दमकल तथा आपतकालीन सेवाहरूले तत्काल हस्तक्षेप गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

















