७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२, मुर्लीको नयाँ टोलमा हैजाका बिरामी देखिएसँगै स्वास्थ्य संकट गहिरिँदै गएको छ। संक्रमणको खबर आएपछि वीरगन्ज महानगरपालिकाले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली प्रभावित क्षेत्रमा खटाएको छ।
महानगर प्रमुख राजेशमान सिंहले तत्काल टोली परिचालन गरी संक्रमित क्षेत्रमै पुगेर स्थलगत निरीक्षण, जानकारी संकलन र सचेतना फैलाउन निर्देशन दिएका थिए। टोलीले शनिबार बिहानदेखि घर–घर पुगेर हैजा रोकथाम तथा सतर्कता अभियान सुरु गरेको छ।
तीन जनामा हैजा पुष्टि, एकको अवस्था गम्भीर
महानगरका अनुसार, मुर्ली टोलका करिब ३० जना स्थानीयवासी झाडापखालाका कारण तराई हस्पिटलमा भर्ना भएका थिए। एकैपटक धेरै बिरामी भएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई जानकारी गराएको थियो।
त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा गरिएको नमूना परीक्षणमा ३ जनामा हैजाको ‘भिब्रियो कोलेरा’ नामक जीवाणु फेला परेको हो। संक्रमितमा १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको जनाइएको छ।
पानीको नमूना टेकु पठाइयो
मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीमा प्रदूषणको आशंका गरिएको छ। त्यसकै पुष्टि गर्न पानीको नमूना संकलन गरी काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। संकट नियन्त्रण गर्न स्वास्थ्य टोलीले स्थानीयवासीहरूलाई हैजा सम्बन्धी जानकारी दिँदै रोगबाट जोगिने उपायहरूबारे सचेत गराइरहेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगर जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुर लगायतको टोली सक्रिय रूपमा अभियानमा जुटिरहेको छ। ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षमा पहिलोपटक हैजाको यति ठूलो प्रकोप देखिएको हो।
हैजाबाट बच्न यस्ता सावधानी अपनाउन सुझाव
स्वास्थ्यकर्मीहरूले निम्न सावधानीहरू अपनाउन सबैलाई आह्वान गरेका छन् ः
उमालिएको वा शुद्धिकरण गरिएको पानी मात्र पिउनु,सागपात, तरकारी उमालेको पानीले धोएर पकाउनु,बासी खाना र अधपकाएको मासु÷माछा नखानु,साबुन पानीले बारम्बार हात धुनु,भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्नु
महानगर प्रमुख सिंहले हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिए । उनले सतर्क रहनुका साथै कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

















