Logo

७ भदौ,काठमाडौं । खेलकुद मनोरञ्जनको गतिलो माध्यम मात्र होइन, यसको क्षेत्र निकै वृहत् छ । खेलकुद निकै ठुलो उद्योग पनि हो । पछिल्लो समय विश्वभर खेलकुद उद्योगले आफ्नो क्षेत्र झनै फराकिलो बनाउँदै लगेको छ ।

फुटबल, क्रिकेट, टेनिस, बास्केटबललगायत खेलमा सक्रिय खेलाडीहरूले बर्सेनि करोडौं डलर आम्दानी गरिरहेका हुन्छन् । यसका अतिरिक्त खेलकुद सामग्रीहरूको बजार, खेल पर्यटन, यो क्षेत्रसँग जोडिएर आउने रोजगारीका अवसरजस्ता पक्षले त खेल क्षेत्रको परिधिलाई झनै वृहत् बनाउँछ ।

त्यसैले हरेक राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको हुन्छ । यहाँ चर्चा गर्न लागिएको विषय भने खेलाडी हुन् । पछिल्लो समय विश्वव्यापी रूपमा क्रिकेट खेलको लोकप्रियता बढ्दो छ ।
फ्रेन्चाइज लिगको बाढीले त विश्वका चर्चित क्रिकेटलाई अत्यन्तै व्यस्त बनाएको छ । त्यसैले यहाँ विश्वका सबैभन्दा बढी कमाइ गर्ने क्रिकेटरबारे चर्चा गरिएको हो । क्रिकेटरहरूले खेलबाट सन्न्यास लिएपछि पनि विभिन्न तरिकाले गतिलो आम्दानी गर्ने गरेका छन् ।

खेलवापत् सम्बन्धित बोर्डबाट पाउने पारिश्रमिकका अतिरिक्त विभिन्न व्यवसायीक प्रतिष्ठानको सद्भावनादूत, विज्ञापन, आफ्नै व्यवसायजस्ता पक्षबाट क्रिकेटरले गतिलो आम्दानी गर्छन् । आखिर को हुन् त विश्वमा सबैभन्दा धनी पाँच क्रिकेटर रु यो सूचीमा तीनजना भारतका तथा वेस्ट इन्डिज र अस्ट्रेलियाका एक–एकजना क्रिकेटर छन् ।

सचिन तेन्दुल्कर (भारत)

सचिन तेन्दुल्कर विश्वकै सबैभन्दा धनी क्रिकेटर हुन् । उनको सम्पत्ति करिब १७ करोड अमेरिकी डलर रहेको छ । नेपाली रुपैयाँमा यो रकम करिब २४ अर्ब हुन आउँछ ।

क्रिकेटको भगवान भनेर चिनिने तेन्दुल्करले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । तर, उनी अहिले पनि विभिन्न व्यवसायबाट राम्रो आम्दानी गर्छन् । उनी थुप्रै विज्ञापनमा पनि देखिन्छन् ।

सचिन अहिले पनि इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सका मेन्टर हुन् । उनले थुप्रै खेलकुद एकेडेमी पनि सञ्चालन गरेका छन् । यसका अतिरिक्त उनले रेष्टुरेन्टहरू पनि सञ्चालन गरेका छन् । स्टार्टअप्स व्यवसायमा पनि उनले लगानी गरेका छन् ।

विराट कोहली (भारत)

विश्वको सर्वाधिक धनी क्रिकेटरको सूचीमा दोस्रो स्थानमा पनि भारतकै विराट कोहली छन् । उनले टी–२० अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।

तर, एकदिवसीय अन्तर्राष्ट्रिय र फ्रेन्चाइज क्रिकेटमा भने उनी अहिले पनि सक्रिय छन् । यी प्रभावशाली क्रिकेटर अहिले १२ करोड ७० लाख अमेरिकी डलरका मालिक हुन् ।

नेपाली रुपैयाँमा यो रकम करिब १८ अर्ब हुन आउँछ । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि करोडौँमा छ । राष्ट्रिय क्रिकेट बोर्डबाट प्राप्त हुने पारिश्रमिकका अतिरिक्त उनी विज्ञापनबाट पनि राम्रो कमाइ गर्छन् ।

विराटले रेष्टुरेन्ट व्यवसाय पनि सञ्चालन गरेका छन् । रियल स्टेट व्यवसायबाट पनि विराटले राम्रो आम्दानी गर्छन् । मुम्बईको गुरुग्राममा उनको करोडौंको सम्पत्ति रहेको छ ।

महेन्द्रसिंह धोनी (भारत)

विश्वको सर्वाधिक धनी क्रिकेटरको सूचीमा तेस्रो स्थानमा भारतकै महेन्द्रसिंह धोनीको नाम आउँछ । उनले निकैअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । तर, फ्रेन्चाइज प्रतियोगितामा भने उनी अहिले पनि सक्रिय छन् ।

भारतीय टोलीका पूर्वकप्तान धोनीको कुल सम्पत्ति १२ करोड ३० लाख अमेरिकी डलर रहेको समाचारमा जनाइएको छ । यो रकम करिब १७ अर्ब १० करोड नेपाली रुपैयाँ हुन आउँछ ।

धोनीले पनि विज्ञापनबाट राम्रो आम्दानी गर्छन् । उनले क्रिकेट एकेडेमी पनि सञ्चालन गरेका छन् । यसका अतिरिक्त खेती, जिम, प्रोडक्सन कम्पनी र टेक स्टार्टअप्सबाट उनले आम्दानी गर्छन् । इन्डियन प्रिमियर लिग क्लब चेन्नई सुपर किङ्समा पनि उनको लगानी रहेको छ ।

रिकी पोन्टिङ (अस्ट्रेलिया)

आफ्नो समयका चर्चित अस्ट्रेलियन क्रिकेटर हुन्, रिकी पोन्टिङ । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट निकैअघि सन्न्यास लिइसकेका छन् । उनी अस्ट्रेलियाका पूर्वकप्तान पनि हुन् ।

विश्वका धनी क्रिकेटरहरूको सूचीमा उनी चौथो स्थानमा छन् । उन सात करोड अमेरिकी डलर सम्पत्तिका मालिक हुन् । नेपालीमा यो रकम करिब नौ अर्ब ७५ करोड रुपैयाँ हुन आउँछ ।

सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि पोन्टिङ अहिले प्रशिक्षण कार्यमा सक्रिय छन् । उनी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा कमेन्टेटरको भूमिकामा पनि देखिन्छन् ।

उनले इन्डियन प्रिमियर लिग क्लब पञ्जाब किङ्समा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । यसका अतिरिक्त उनले टेलिभिजन र डिजिटल मिडियाबाट पनि राम्रो आम्दानी गर्छन् ।

ब्रायन लारा (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका ब्रायन लारा विश्व क्रिकेटकै महान खेलाडीमध्ये एक हुन् । उनलै अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको निकै लामो समय बितिसकेको छ ।

लारा विश्वका धनी क्रिकेटरहरूको सूचीमा पाँचौँ स्थानमा छन् । उनको सम्पत्ति ६ करोड अमेरिकी डलर रहेको छ । यो रकम करिब आठ अर्ब ३५ करोड नेपाली रुपैयाँ हुन आउँछ ।

सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनी अहिले क्रिकेट कमेन्ट्री, प्रशिक्षण र ब्रान्ड एम्बेसडरको भूमिकामा सक्रिय छन् । उनले इन्डियन प्रिमियर लिग क्लब सनराइजर्स हैदराबादमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।


सम्बन्धित समाचार