७ भदौ,वीरगञ्ज । छ्पकैया नेपाली समाजले वीरगञ्ज महानगरपालिका–२ स्थित श्रीसंसारी माई मन्दिरलाई चार थान सिलिङ पंखा सहयोग गरेको छ। लामो समयदेखि मन्दिरमा रहेका पंखाहरू जीर्ण भई नचल्दा भक्तजनहरूलाई असहज भइरहेको अवस्थामा समाजले यो सहयोग गरेको हो।
आज शनिबार आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष धिरज शर्माले मन्दिर सञ्चालक समिति अध्यक्ष प्रदीप राउत कुर्मी र पुजारीलाई संयुक्त रूपमा पंखा हस्तान्तरण गरे।
समाजका सचिव अजित भुजेलका अनुसार तीज र पञ्चमी पर्व नजिकिँदै गर्दा भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर यो सहयोग गरिएको हो। अब मन्दिरमा आउने भक्तजनहरूले पूजा–पाठ तथा भजन–कीर्तन गर्न सहज वातावरण पाउनेछन्।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष शर्माले छ्पकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ, स्वास्थ्य शिविर, रक्तदान, चाडपर्वमा प्रसाद वितरण, चिसोमा न्यानो कपडा तथा कम्बल वितरण जस्ता कार्य गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
हस्तान्तरण कार्यक्रममा समाजका सचिव अजित भुजेल, सदस्य प्रकाश शाह, कृष्ण कार्की, शम्भु थापा, विजय पौडेल, मन्दिर सञ्चालक समिति सदस्य शन्नी गुप्ता लगायतको उपस्थिति थियो।















