Logo

७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको संक्रमण फैलिएको पुष्टि भएको छ। हालसम्म वीरगञ्जको वडा नं. ११, १३ र १६ मा हैजाका बिरामीहरू भेटिएका छन्। तराई अस्पतालमा उपचारका लागि भर्ना भएका वडा नं. १२, मुर्लीका ३० जना बिरामीहरूको परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ’भिब्रियो कोलेरा’ पुष्टि भएको हो।

यसरी बढ्यो संक्रमण

नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेको छ। हालसम्म झाडापखालाका कारण तीन जनाको मृत्यु भइसकेको छ। यद्यपि, मृत्युको आधिकारिक कारण भने पुष्टि भएको छैन। विशेषज्ञहरूले दूषित पानी र खानाको कारण हैजा फैलिएको हुन सक्ने बताएका छन्। वीरगञ्जका केही बस्तीहरूमा ढल र खानेपानीको पाइप मिसिएकोले महामारी फैलिएको अनुमान गरिएको छ।

महानगरपालिकाको पहल

हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगञ्ज महानगरपालिकाले रोकथाम र नियन्त्रणका लागि तीव्र गतिमा काम गरिरहेको छ। महानगरपालिकाले खानेपानीमा क्लोरिन हाल्ने, पानी उमालेर मात्र पिउने र सफा खानेपानी प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संक्रमणको फैलावट रोक्न र प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। साथै, आकस्मिक अवस्थाका लागि औषधि, एम्बुलेन्स, र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। हाल वडा नं १ देखि १६ सम्मका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ।

जनतालाई आग्रह

स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै जनचेतनामूलक अभियान सञ्चालन गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरिरहेका छन्। हात धुने, सफा पानी पिउने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन महानगरपालिकाले सबैलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार