७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि महानगरपालिकाले महत्त्वपूर्ण कदम चालेको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।
शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, भाद्र ८ र ९ गते (आइतबार र सोमबार) विद्यालयहरूको पठनपाठन स्थगित गरिएको छ। हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ। यसै कारण विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो।
महानगरपालिकाले सबैलाई संक्रमणबाट जोगिनका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सूचनामा उल्लेख भएअनुसार, पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन, सरसफाइमा ध्यान दिन र काँचो तरकारीलाई राम्ररी धोएर मात्र खान सुझाव दिइएको छ।
शैक्षिक प्रशासन महाशाखाले हैजा नियन्त्रणमा ल्याउन सबैको सहयोग र सतर्कता अपरिहार्य रहेको जनाएको छ।















