७ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी (अशोक राई समूह) पर्साका नेता तथा जिल्ला समन्वय समितिका पूर्व सभापति नेक महम्मद अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्।
पूर्व सभापति अन्सारीले फेसबुक स्टाटसमा लेखेका छन्, “म नेक महम्मद अन्सारी, पूर्व सभापति, जिल्ला समन्वय समिति पर्सा, आजबाट जनता समाजवादी पार्टी (अशोक राई समूह) को सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र भएको घोषणा गर्दछु।”
पार्टी भित्र आफूले योग्य स्थान र जिम्मेवारी नपाएको गुनासो गर्दै उनले लामो समयसम्म प्रतिक्षा गरे पनि अपेक्षित भूमिका नपाएपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेका हुन्। उनका निकटस्थहरूका अनुसार, अन्सारीमा पछिल्लो समय गहिरो असन्तुष्टि देखिएको थियो।
मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका अन्सारीले जिल्ला समन्वय समितिको सभापतिका रूपमा प्रभावकारी समन्वय गर्दै नेतृत्व क्षमता देखाइसकेका थिए। पार्टीले उनलाई केन्द्रीय परिषद सदस्य बनाएको थियो, तर उनी थप जिम्मेवारीको अपेक्षामा थिए।
गतिशील र जिम्मेवार नेताको छवि बनाएका अन्सारी पार्टीको नीतिनिर्माण तहमा काम गर्न चाहन्थे, तर त्यो अवसर नपाएपछि उनले स्वतन्त्र रहने निर्णय लिएको उनका सहयोगीहरूले बताएका छन्।
अन्सारीले अब स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय हुने संकेत दिएका छन्।















