Logo

७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले एक महत्त्वपूर्ण कदम चालेको छ। स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले सडक किनारमा बेचिने पानीपुरी, चाट, भुजा र अन्य खुला खाद्य सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाएको छ।

दूषित पानी र खानाबाट हैजाको जीवाणु फैलिने हुँदा यस्ता सडक खाद्य सामग्रीहरू संक्रमणको प्रमुख स्रोत बन्न सक्ने निष्कर्षमा पुगेर यो निर्णय गरिएको हो।

महानगरपालिकाले जारी गरेको सूचनामा यस प्रतिबन्धको पालना नगर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ। हैजा नियन्त्रणका लागि जनस्वास्थ्यसँग जोडिएका यस्ता निर्णयलाई सबैले पालना गर्नुपर्नेमा महानगरपालिकाले जोड दिएको छ।

हाल वीरगञ्जका विभिन्न वडामा हैजाको संक्रमण फैलिएको छ र यसको रोकथामका लागि विद्यालयहरू पनि केही दिनका लागि बन्द गरिएको छ। यस जोखिमपूर्ण अवस्थामा महानगरपालिकाले सबैलाई सरसफाइमा विशेष ध्यान दिन र पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।


सम्बन्धित समाचार