Logo

७ भदौ, चितवन । चितवनमा स्क्रब टाइफस संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–१३ निवासी ३६ वर्षीया महिलाको शनिबार भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार, भदौ ४ गते अस्पताल भर्ना भएकी ती महिला छारे रोगबाट पनि पीडित थिइन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

यता, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार, हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ७३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय स्क्रब टाइफसको जोखिम बढ्दै गएको जनाउँदै प्रमुख रुपाखेतीले बताए, “चितवनकै ५८ जना संक्रमित छन् भने अन्य केही संक्रमित अन्य जिल्ला र क्षेत्रका छन्।”

स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म १ हजार ५३० जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य विज्ञहरूका अनुसार, स्क्रब टाइफस एक प्रकारको ब्याक्टेरियल संक्रमण हो, जुन संक्रमित किराको टोकाइबाट फैलिन्छ। समयमै उपचार नभएमा यो रोग घातक बन्न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूको आग्रह छ।


सम्बन्धित समाचार