७ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण समुदायमै फैलिँदै गइरहेका बेला महानगर प्रमुख राजेशमान सिंह स्वयं नारायणी अस्पताल पुगेर संक्रमित बिरामीहरूको अवस्था बुझेका छन्। उनले अस्पतालमा भर्ना भएका बिरामीहरूसँग कुराकानी गर्दै उनीहरूको मनोबल बढाएका छन्।
महानगर प्रमुख सिंहले चिकित्सकहरूसँग समन्वय गर्दै अस्पतालमा थप बेड र उपचार सुविधा सुनिश्चित गर्ने पहल थालेका छन्। उनले हैजाको नियन्त्रण र उपचारलाई प्राथमिकतामा राख्दै महानगरपालिकाको सम्पूर्ण संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
“यो संकटको घडीमा जनताको ज्यानको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ,“ सिंहले भने, “महानगर जनताको साथमा छ, आवश्यक सबै सहयोग प्रदान गरिनेछ।“
उनको सक्रियता र तत्काल प्रतिक्रिया स्थानीयवासी तथा बिरामीका परिवारका लागि आशाजनक देखिएको छ। जनस्वास्थ्य संकटको यस अवस्थामा नेतृत्वले देखाएको संवेदनशीलता र तत्परताले संक्रमण नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
महानगरले हालै ‘स्ट्रिट फुड’ बिक्रीमा प्रतिबन्ध लगाएको छ भने सरसफाइ र जनचेतनाका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा घर–घरमा पुगेर निगरानी र जनचेतनामूलक कार्यमा खटिएको छ।

















