७ भदौ, काठमाडौं । हमास समूहको नियन्त्रणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनको परिवार सक्रिय रूपमा पहल गरिरहेको छ। यसैक्रममा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
परिवारले हालै इजरायल पुगेर राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको सकुशल रिहाइका लागि अपिल गरेका थिए। भेटका क्रममा उनीहरूले इजरायली उच्च अधिकारीहरूसँग भएका संवादबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकार गम्भीरताका साथ लागिपरेको बताएका छन्। “विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा उहाँहरू इजरायली राष्ट्रपति र संसद् अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,” प्रधानमन्त्री ओलीले भने, “सरकारले विपिनको रिहाइका लागि कुनै पनि कसर बाँकी राखेको छैन।”
विपिन जोशी गत वर्ष इजरायलमा काम गरिरहेका बेला हमास समूहद्वारा अपहरणमा परेका थिए। त्यसयता उनको अवस्थाबारे चिन्ता व्यक्त हुँदै आएको छ। परिवारको सक्रियता र सरकारी पहलले उनको रिहाइमा आशाको किरण देखिएको छ।















